पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनको विकास नेपालका लागि अनुकरणीय भएको बताएकी छिन्।
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजले संयुक्त रूपमा आयोजना गरेको फेवा संवाद २०२४ को उद्घाटन गर्दै भण्डारीले उक्त कुरा बताएकी हुन्।
‘हाम्रा दुई निकट छिमेकी राष्ट्रहरू भारत र चीन नेपालको विकासमा साझेदार राष्ट्र मात्र नभई उनीहरूको उत्तरोत्तर विकास हाम्रा लागि अनुकरणीय रहेको छ,’ उनले भनिन्, ‘दुवै राष्ट्रबाट प्राप्त सहयोग र उनीहरूको अनुभवबाट हामीले प्रशस्त फाइदा उठाउन सक्छौं।’
भण्डारीले यी दुई देशको विकास उनीहरूका तर्फबाट प्राप्त सहयोग नेपालका लागि हौसला र प्रेरणा बनेको पनि बताइन्। भारत र चीनका सवल र सक्षम नेतृत्वका कारण एसिया विश्व आर्थिक तथा प्राविधिक विकासको केन्द्र बनेको भन्दै उनले नेपालको विकास गर्ने दायित्व आफुहरूको हातमा रहेको बताइन्।
नेपालको विश्वभर मित्र र शुभचिन्तक रहेको भन्दै उनले विकसित र आत्मनिर्भर नेपाल नै आफुहरूको प्रतिष्ठा र दिगो आन्तरिक सहिष्णुताको कडी बन्न सक्ने बताइन्।
अर्को प्रसंगमा पूर्व राष्ट्रपति भण्डारीले नेपालले विकास प्रक्रियालाई तीव्रता दिइरहँदा जलवायु परिवर्तनले नकारात्मक प्रभाव पारेको बताइन्। जलवायु अनुकुलनका लागि बनेका नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न उनले जोड दिइन्।
जलावायु संकटको जिम्मेवारी विकसित र औद्योगिक मुलुकले लिनुपर्ने भन्दै उनले जलवायु न्यायका लागि प्रदुषण गर्न योगदान नभएका राष्ट्रलाई क्षतिपूर्ति दिनुपर्ने बताइन्।
‘जलवायु जोखिममा रहेका देशहरूलाई अनुकुलनका लागि हानी तथा नोक्सानीको क्षतिपूर्ति बापत बिना शर्त वित्तीय स्रोत र प्रविधि उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्।
नेपालमा पहिलो पटक आयोजना गरिएको उक्त संवाद सम्मेलनमा चीनबाट ३० जना, नेपालका २० जना, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३/३ जना, भुटान, मलेसिया, सिंगापुर, ईण्डोनेसिया लगायत देशका विषयविज्ञ, अर्थशास्त्री लगायत सहभागी भएको त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले बताए।
बिहीबार र शुक्रबार चल्ने विभिन्न सेसनमा उनीहरूले आ–आफ्नो प्रस्तुति दिनेछन् भने प्यानल छलफलको कार्यक्रम पनि राखिएको उनले बताए।
सम्मेलनमा शिक्षामन्त्री विद्यादेवी भट्टराई, पूर्व मन्त्रीहरू कमल थापा, डा. युवराज खतिवडा, प्रदीप ज्ञवाली, डा. प्रकाशशरण महत, योजना आयोगका पूर्व उपाध्यक्ष डा. दीपेन्द्रबहादुर क्षेत्री, प्रा.डा. गोविन्दराज पोखरेल, डा. विश्व पौडेल लगायतले बोल्ने कार्यक्रम छ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com