बाजुरा– जिल्ला सदरमुकाम मार्तडीको बजार क्षेत्रको सडक छेउमा राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउने निर्णय गरिएकाे छ । आइतबार जिल्ला समन्वय समिति बाजुराले बोलाएको सर्वपक्षीय बैठकबाट बडीमालिका नगरपालिकाको दुनी हाटबजार र माथिल्लो बजारका सडक छेडमा राखिएका निर्माणका सामग्री र सवारी साधन राखेको हटाउन लगाउने र हटाउन आग्रह गर्दा नमाने कानुनी कारबाही गर्ने निर्णय गरेको हाे
जिल्ला समन्वय समिति बाजुराका समन्वय अधिकारी दीपेन्द्र पाण्डेका अनुसार समन्वय समितिको कार्यालयमा बसेको बैठकले मार्तडी बजारको सरसफाईको लागि सरकारी गैरसकारी कार्यालयहरु, सुरक्षा निकाय, विद्यालय, होटल व्यवसायी, व्यापारी लगायत सरोकारवाला निकाय र व्यक्तिहरुबीच सहकार्य गर्ने,बजारको मुख्य क्षेत्रमा सिसिटिभी क्यामरा जडान गर्न बडिमालिका नगरपालिकालाई आग्रह गर्ने, र बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य महासंघ र वडा नं ८ र ९ को नेतृत्वमा मार्तडी बजारका हरेक पसल र घरमा अनिवार्य डस्टवीन राख्न लगाउने निर्णय भएको बताए ।
यस्तै बैठकले सडकको छेउछाउमा राखिएका निर्माण सामग्री, बिग्रेका सवारी साधन तथा ट्राक्टरहरु हटाउन अनुरोध गर्ने र अटेर गरे कानून बमोजिम कारबाही गर्ने निर्णय भएको समन्वय अधिकारी पाण्डेले बताए । मार्तडी बजारलाई फोहर मुक्त बनाउनका लागि प्रत्येक शनिबार समन्वय समितिको अगुवाईमा सरसफाई अभियान संचालन हुँदै आएको छ ।
बजार क्षेत्रमा देखिएका फोहरवस्तुहरु उचित ठाउँमा व्यवस्थापन गर्नका लागि समन्वय समितिले हरेक शनिबार सरसफाई अभियान संचालन गरेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । समन्वय समितिका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा बसेको बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ का वडा अध्यक्ष,सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुकाे सहभागीता रहेकाे थियाे ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com