ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



मदन स्मृति दिवसको अवसरमा विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्ने


मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको मदन स्मृति दिवसको कार्यक्रम एमालेको आन्तरिक जीवनमा अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ। 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकछत्र प्रभाव कायम रहेको एमालेमा ओलीको अनिच्छाका बावजुद पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन्। 

पूर्वराष्ट्रपति भण्डारीले शनिबारको त्यही कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट एमाले नेताहरूले जानकारी दिएका छन्। 

मदन भण्डारी पत्नी भण्डारी एमालेमा लामो समय ओलीको निकट सहयोगीका रूपमा चिनिन्थिन्।  

ओलीकै सहयोगमा दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले पति मदनको ७४ औं जन्मजयन्तीकै अवसर पारेर सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट नेताहरूले बताएका छन्। 

‘उहाँले भोलि सक्रिय राजनीतिमा फर्कन्छु भनेर बोल्ने तयारी गर्नुभएको छ,’ एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सेतोपाटीसँग भने, ‘उहाँले अध्यक्षलाई भेटेर सहयोग गर्नुस् भनेर आग्रह गरिसक्नु भएको छ। भोलि सार्वजनिक रूपमा उहाँले त्यही कुरा भन्ने हो।’ 

पछिल्लो समय भण्डारी निकट रहेका नेता थापाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधान, ऐन, कानुन तथा पार्टी विधानले नछेक्ने बताए। 

‘उहाँलाई छेक्ने तयारी भैरहेको भन्ने पनि सुनिएको छ। त्यसबारे बहस हुँदै जाला। तर, उहाँले भोलि बोल्नुहुन्छ,’ थापाले भने। 

विधानमै निषेधकारी व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य हुनबाट रोक्नुपर्ने विषय महासचिव शंकर पोखरेल स्वयंले अघि सारेका छन्।

बुधबार एमालेको ५३ औं सचिवालयको बैठकमा महासचिव शंकर पोखरेलले गणतन्त्रप्रति चौतर्फी प्रहार भइरहेको बेला पूर्वराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्कने विषयले झनै नराम्रो गर्ने बताउँदै यो विषय सचिवालयमा उठाएका थिए। 

उनले विधानमै व्यवस्था गरेर भण्डारीलाई रोक्नुपर्ने प्रस्ताव गरेका थिए। तर, समर्थनमा बोल्ने कोही नहुँदा यो विषय त्यतिकै रोकिएको थियो। 

शनिबारको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बन्दैछन्। प्रधानमन्त्री ओलीको शनिबार स्पेन जाने तयारी छ। उनी कार्यक्रमलाई सम्बोधन गरेर छिट्टै निस्कन सक्ने एमाले नेताहरूले बताएका छन्।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.