सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेश सभाबाट निलम्बन गरिएको छ।
प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।
प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेश सभामा अब सो पार्टी तीन प्रदेश सभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले) बाट प्रदेश सभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए।
सोडारीले पदको दुरूपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।
उनले आर्जन गरेको एक करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ बराबरको सम्पत्तिमध्ये ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक रूपमा आयआर्जन भएको देखिएको अख्तियारले जनाएको छ।
त्यसबाहेक एक करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै मुद्दा दायर भएको हो। अख्तियारले २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिको छानबिन गरेको थियो।
'गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले सोडारीविरूद्ध उक्त रकम बराबरको बिगो कायम गरी त्यसअनुसार कैद र बिगो बमोजिम जरिवाना गर्न मागदाबी,' अख्तियारले भनेको छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ।
सोडारीले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको भन्दै उनीमाथि थप कैद र जरिवाना समेत अख्तियारले माग गरेको हो।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com