ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



उपकुलपति सिंहको अपमानजनक बिदाइ,जाने बेला कार्यकक्षमा पाइला टेक्न पाएनन्


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल बिहीबार सकिँदै छ । यद्यपि भारतमा आयोजना हुन लागेको कुनै एक कार्यक्रमका सहभागी हुने भएकाले उनलाई मंगलबार साँझ उनकै निवासमा बिदाइ गरियो ।

उपकुलपति सिंह कार्यकाल सकेर विश्वविद्यालयबाट बाहिरिँदै गर्दासमेत विश्वविद्यालयमा लगाइएको ताला खुल्न सकेन । प्र्राध्यापक संघ–संगठन तथा विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै गत असोज १२ गते विश्वविद्यालयमा तालाबन्दी गरेका थिए । सम्बन्धन अन्तर्गत सञ्चालनमै नआएका कार्यक्रमहरु चोरबाटोबाट थप गर्न लागेको, आफूखुसी २५ जना पीएचडी होल्डरलाई नियुक्ति दिइएको, प्रधानमन्त्रीको कार्यालयको अवज्ञा गर्दैै बिना विज्ञापन कर्मचारी नियुक्ति गरेको, विश्वविद्यालयको आफ्नै संरचना प्रशस्त हुँदाहुँदै एक जना डीनको घरमा एउटा फ्याकल्टीको कार्यालय राखिएको लगायतका विषयमा प्राध्यापक तथा विद्यार्थी संघ संगठन आन्दोलित भएका हुन् 

तालाबन्दी गर्नेमा नेकपा माओवादी, कांग्रेस, एकीकृत समाजवादी निकट प्राध्यापक र विद्यार्थी संघ–संगठन छन् । विप्लव निकट विद्यार्थी संगठनले पनि आन्दोलनलाई साथ दिएको छ ।

यो बिचमा १४ पटक वार्ता बसे पनि सहमति नजुट्दा अहिलेसम्म तालाबन्दी कायमै छ । उपकुलपति सिंहले यो अवधिमा निवासबाटै विश्वविद्यालय चलाए । बाहिरिँदै गर्दा पनि विश्वविद्यालयको आफ्नो कार्यकक्षमा उनले पाइला टेक्न पाएनन् ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा नारायण पौडेलले केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न सोमबार अपिल गरेका थिए । अपिलमा भनिएको छ, ‘केन्द्रीय कार्यालयमा विगत पाँच महिनादेखि विभिन्न मागहरु राख्दै तालाबन्दी भइरहेको छ, तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक प्रशासनिक एवम् आर्थिक प्रशासनिक कामकाजहरु ठप्प भएका छन् । साथै प्राध्यापक तथा विद्यार्थी संगठनहरुसँग पटक–पटक वार्ता गर्दा संवाद निष्कर्षविहीन भयो । तालाबन्दी कायमै रहँदा उपकुलपतिज्यूको फाल्गुन १५ गते आयोजना गरिएको बिदाइ कार्यक्रम विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट गर्न कठिन हुने अवस्थामा उपकुलपतिज्यूको सम्मानजनक बिदाइ कार्यक्रम गर्नका लागि केन्द्रीय प्रशासनिक केन्द्रमा लागेको ताला तत्काल खोलेर सहयोग गर्न अपिल गरिन्छ ।’

तर, प्राध्यापक संघ–संगठन तथा विद्यार्थीहरु नेताहरुले ताला खोल्नु त परै जावस्, मंगलबार उपकुलपति सिंहकै निवासमा पुगेर बिहानैदेखि आन्दोलनमा उत्रिए ।

‘उपकुलपतिले जाने बेलामा केही निर्णय गर्ने हुन् कि’ भन्नै भ्रम पालेका प्राध्यापकहरुले आफू निकट राजनीतिक दलका विद्यार्थी नेताहरुलाई बोलाएर आन्दोलन गराइरहेका थिए । जसका कारण दिउँसो १२ः३० बजे राखिएको पत्रकार सम्मेलन समेत हुन सकेन ।

आन्दोलन बढ्ने देखिएपछि त्यहाँ जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी तैनाथ थिए । सिंहको पत्रकार सम्मेलनका लागि पुगेका पत्रकारहरु रित्तो हात फर्किनुपर्यो ।

बेलुका ६ बजेतिर पुनः पत्रकारलाई बोलाइयो । तर, त्यहाँको अवस्था झन् तनावग्रस्त थियो । भित्र पत्रकार सम्मेलन भइरहँदा बाहिर सिंहविरुद्ध चर्को नाराबाजी भइरह्यो । उनी विरुद्ध मुर्दावादका नाराहरु लागिरहे । तर, सिंहले आफ्नो कार्यकालमा भएका गतिविधिहरु सार्वजनिक गर्दै पत्रकार सम्मेलन बिट मारे ।

याे पनिमध्यपश्चिम विश्वविद्यालयभित्र कचिङ्गल : प्राध्यापक र विद्यार्थी संगठन एकातिर, उपकुलपति अर्काेतिर

मध्यपश्चिम विश्वविद्यालयभित्र कचिङ्गल : प्राध्यापक र विद्यार्थी संगठन एकातिर, उपकुलपति अर्काेतिर

तपाईं विश्वविद्यालयबाट बाहिरिने बेला पनि यस्तो खालको नाराबाजी, तालाबन्दी कायमै किन ? भन्ने प्रश्नमा उपकुलपति सिंहले भने, ‘म ताला तोड्न सक्थेँ तर मैले कर्णालीका दाजुभाइसँग लड्नुहुन्न, हामी कर्णालीवासी हो, मिलेर सहमतिमा जानुपर्छ भन्ने सोचेँ ।’

सधैँ आक्रामक र हक्की देखिने उनी मंगलबार निराश थिए । उनले अगाडि भने, ‘मेरो लडाइँ कसैसँग नभइ कर्णालीको रोग, भोक, गरिबीसँग हो, म विश्वविद्यालयलाई सही तरिकाले चलाउनुपर्छ भनेर अग्रसर भइरहेँ । आफ्नो ठाउँको विश्वविद्यालय बनाउन आएको थिएँ ।’

विश्वविद्यालय आमुल परिवर्तनको बाटोमा लम्किएको पनि उनले दाबी गरे । ‘म गर्वका साथ भन्छु, एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, आमुल परिवर्तन गरेर जाँदा समुदायले मूल्याङ्कन गर्ला नै,’ उनले थपे, ‘सहयोग नगरेकाहरुलाई पनि केही भन्नु छैन, म विश्वविद्यालयमा राजनीति हुनुहुँदैन भन्ने मान्छे हो ।’

उनले आफ्नो निवासबाहिर भइरहेको आन्दोलनलाई ‘पोलिटिकल आन्दोलन’को संज्ञा दिए । स्वार्थका कारण आन्दोलन भइरहेको उनको तर्क थियो । विश्वविद्यालयमा राजनीति गर्न हुँदैन, पार्टीको झोला बोकेर विश्वविद्यालयमा जानु हुँदैन भनेर आफू सुरुदेखि नै लागेको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा उपकुलपतिले के गरे ?

०७६ फागुनमा नियुक्त भएका प्रा.डा. सिंहले आफ्नो कार्यकालमा विश्वविद्यालय आमुल परिवर्तनको बाटोमा गएको दाबी गरे । आफू आएपछि एकीकृत विश्वविद्यालयको भिजन अघि सारेको र त्यही भिजन अनुसार आफूले काम गरेको उनले बताए ।

आफूले अघि सारेका अधिकांश योजना पूरा भएको र केही पूरा हुने चरणमा रहेको उनको भनाइ छ । उनले भने, ‘म आउँदा विश्वविद्यालय १३ करोड घाटामा थियो, ४० करोड ५९ लाख बेरुजु थियो । त्यसलाई घटाएँ ।’ बेरुजु घटाएर ५ करोडमा झारिएको उनले बताए ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.