ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



धन्य बडिमालिका


प्राकृतिक छटाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र हो बडिमालिका। सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र कर्णाली प्रदेशको कालीकोटको संगमस्थलमा हो भने मुख्य पूजाथान भने बाजुरा जिल्लामा पर्छ। 

प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, बैद्यनाथ, अपी र साइपाललगायतका क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छन्। त्यसमध्ये पनि बडिमालिकाको स्थान विशिष्ट छ, धार्मिक र पर्यटकीय दुवै हिसाबले। 

हिन्दुहरूको आस्थाको धरोहर यति महत्त्वपूर्ण भगवतीको पीठ ओझेलमा परेको छ। बडिमालिका क्षेत्र संरक्षण, संवद्र्धन र विकासको पर्खाइमा छ। शान्त डाँडाकाँडा, फराकिला घाँसेमैदान अनि सिमसिम पानी। वर्षात्मा रमाउँदै उकालो पदयात्रा छिचोलेपछि मात्र आकर्षक र मनमोहक दृश्य त्रिवेणी र बडिमालिका  देखिन्छ। 

बादल आफूभन्दा तल हुन्छ। मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला चुचुरा, हेर्दै मन डराउने अग्ला डाँडाहरू, शृंखलाबद्ध पहाडहरू कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? भोक, थकान, पीडा, चिसो सिरेटो सबै गौण हुन्छन्। 

बडिमालिकाको जति चर्चा गरे पनि कम हुन्छ । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको छ। जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्राको मौसम भने वर्षा याम हो। बडिमालिका छ नै त्यस्तो। पुग्न कठिन। पुगेपछि झर्न कठिन। यी सबै कठिनाइ बडिमालिकाप्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरिया पाटनका अगाडि गौण हुन्छन्। 

बडिमालिकाको दर्शनले मनले चिताएको पूरा हुने जनविश्वास छ। पुत्र नभएकाहरूलाई पुत्र प्राप्ति, धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ। बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास छ। बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीबेती झन् अचम्मको छ। परापूर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको, धान, धान रोप्न तयार गरिएका जस्ता गह्राहरू, त्यसबीचमा फालिएका बिउका मुठाहरू जस्ताका तस्तै छन्। 

उहिले भगवती र मैसासुर राक्षसको लडाइँ हुँदा खेती लगाउँदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किंवदन्ती रहेको बूढापाकाहरू बताउँछन्। बडिमालिका मन्दिरको धार्मिक महत्त्व मात्र नभई १ सय ४० भन्दा बढी जातका रंगीचंगी फूल, सयौं जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चराचुरुंगी पाइन्छन्। 

६ महिना घोडा भेडाहरू चराउनका लागि उपयुक्त चरिचरन क्षेत्र, २२ वटा घाँसेमैदान, तीन वटा नदीको संगम रहेको पवित्रधाम त्रिवेणी त्यही पर्छ।  थुप्रै ठाउँ नियाल्न सकिने अग्ला–अग्ला हिमशृंखलाहरूले तीर्थालुको मन लोभ्याउने गर्छ। 

पर्यटकीय महत्त्वको गहना बडिमालिका र त्रिवेणी पाटनको विकासका लागि सरकारी पहल भने भएको छैन। बडिमालिकालगायत अन्य मन्दिरमा दर्शनार्थीले सुनचाँदी र अन्य बहुमूल्य गरगहना चढाउने गर्दछन् तर ती सामान सरकारी ढुकुटीमा गएको देखिँदैन। सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न जिल्ला र भारतका विभिन्न सहर अधिकांश  धार्मिक पर्यटकहरू बडिमालिका पुग्छन्।

बडिमालिकामा कालीकोट, बाजुरालगायतका जिल्लाका किसानले भेडा, बाख्रा, घोडालगायतका चौपाया चराउन ल्याउने गरेका छन् भने जडीबुटी पनि संकलन गर्ने गरेका छन्। बडिमालिका पुगेका पर्यटक तथा तीर्थालुहरूका लागि त्यो क्षेत्र सदा अविस्मरणीय रहिरहने बाजुरा जिल्लाका पूर्वप्रजिअ गोपाल अधिकारी बताउँछन्। ‘पुग्नेका लागि बडिमालिका जीवनभरिको स्मरण हो’ प्रजिअ अधिकारीले भने।

पछिल्लो समय बडिमालिकाको चर्चा हुँदै गएको छ। तर राज्यले पूर्वाधारमा लगानी गर्न नसकेको बाजुरा क्याम्पसका उपप्राध्यापक काशीप्रसाद जोशी बताउँछन्। ‘बडिमालिकालाई राज्यले आम्दानीको स्रोतका रूपमा पनि प्रयोग गर्न सक्छ। बर्सेनि हजारौं भक्तजनहरू भेटीका रूपमा चुन, चाँदी, पैसादेखि बहुमूल्य गहना चढाउने गर्छन्। त्यसको कुनै रेकर्ड र लेखाजोखा छैन। धार्मिक आस्थाले चढाइएका बहुमूल्य वस्तुलाई आम्दानी बाध्न सके सरकारले लगानी नै गर्नु पर्दैन’ उपप्राध्यापक जोशी भन्छन्।

बडिमालिकाको सुन्दरता र धार्मिक आस्था जति छ, भौतिक संरचना नहुँदा त्यति नै समस्या छ।  बडिमालिका माताको मूल मन्दिर भएको ठाउँमा कुनै संरचना बनेको छैन। धार्मिक पर्यटकका लागि खानेपानी शौचालयदेखि बास बस्नसमेत समस्या हुने गर्छ। मूल मन्दिर नै जीर्ण अवस्थामा रहेको छ। यसको मर्मत वा पुनर्निर्माण हुन सकेको छैन। 

हाल रहेको मन्दिर सानो र एक मात्र ढोका भएकोले दर्शनार्थीलाई पूजा गर्न घण्टौं कुर्नुपर्ने बाध्यता छ। बाटोमा खानबस्नसमेत नपाइने भएकोले राज्यले बाटोमा बस्न खाने व्यवस्थाको लागि लगानी लगाउने वातावरण बनाइदिन जरुरी छ।

जनैपूर्णिमाको अवसर पारेर लाग्ने बडिमालिका मेलामा देशभरका तथा छिमेकी मुलुक भारतबाट श्रद्धालु भक्तजनहरू तीर्थयात्रा गर्न आइपुग्छन्। तीनवटा नदीको संगम रहेको त्रिवेणीधामको छुट्टै महत्त्व छ। भक्तजनहरूले यहाँ पितृहरूको श्राद्ध गर्ने गर्छन्। 

नुहाइधुवाइ गरेर बडिमालिका थानतिर उक्लिन्छन्। भोलिपल्ट बिहान बडिमालिकाको थानमा पूजा गरेर बाजुराकै नाटेश्वरी मन्दिरतिर लाग्छन्। नाटेश्वरी मन्दिरमा पूजा गरेपछि बडिमालिका दर्शनको चक्र पूरा हुन्छ भन्ने मान्यता छ।

बाजुरा जिल्लाको पोरखे लेक, मार्तडी, कोर्ध, मना र त्रिवेणीको नाटेश्वरी बडिमालिका पदयात्रीका लागि मुख्यमुख्य पदमार्ग हुन्। त्यस्तै छिमेकी जिल्ला अछाम र कालीकोटबाट पनि दर्शालु आउने गरेका छन्। बाटोमा खाने, बस्ने व्यवस्था आफैंले गर्नुपर्छ। 

मेला अवधिभर भने त्रिपालमुनि अस्थायी होटलहरू सञ्चालन गरिएको हुन्छ। भक्तजनहरूले बस्न पाल, टेन्ट, लत्ताकपडा बोकेरै आउँछन्। यसवर्ष १२ हजार जति भक्तजनले बडिमालिका दर्शन गरेको मेला आयोजक समितिले अनुमान गरेको छ।

बडिमालिका समुद्री सतहदेखि ४२ सय मिटर उचाइमा अवस्थित छ। बाटैभरि टाढासम्म फैलिएका हरिया पाटन, अग्ला पहाडहरू, थुप्रै स-साना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछ। 

अग्ला-अग्ला पहाडहरूमा उकालो–ओरालो गर्दै, कतै साँघुरा बाटाहरू यात्रा गरिरहँदाको थकानलाई यहाँ देखिने सुन्दर दृश्यले मेटाउँछन्। युवादेखि ज्येष्ठ नागरिक पुस्ताका भक्तजनहरू मेलामा आउने, बडिमालिका थानमा आशीर्वाद माग्ने, मनोकांक्षा पूरा भएको भन्दै धन्यवाद व्यक्त गर्न पनि भक्तहरू आउने गरेका छन्। 

पृथ्वीनारायण शाहको पालादेखि लाग्दै आएको यो मेलामा सरकारी स्तरबाटै पूजा गर्ने गरिन्छ। बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको बडिमालिकाका पुजारी भानुभक्त पाध्याय बताउँछन्।

अनुनपुर्ण पोष्टबाट साभार



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.