बाजुरा- मंसिर १६ गते हुन लागेको जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको उप निर्वाचनको लागि जिल्ला अदालत बाजुराका न्यायधिश संजीव पोखरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
सोमबार निर्वाचन आयोगले उक्त पालिकामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन गराउने गरी मुख्य निर्वाचन अधिकृतका रुपमा तोकेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृतको पदमा निर्वाचन आयोगले नियुक्त गरेको छ ।
आयोगले मंसिर १६ गते हुने उप निर्वाचनका लागि सुदूरपश्चिमका ६ जिल्लाका लागि पाँच निवाृचन अधिकृत तोकेको छ ।
आयोगले बाजुरामा संजीव पोखरेल, बझांगमा सुदर्शन लामिछाने, डोटीमा रुद्रमणी गिरी,दार्चुलामा पुष्पराज पाण्डे र कञ्चनपुरमा लिलाराव अधिकारीलाई नियुक्त गरेको छ ।
प्रदेशका बाजुराको स्वामीकार्तिकमा रिक्त रहेको उपाध्यक्ष पदमा उप निर्वाचन हुन लागेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।
बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।
यता कैलाली जिल्ला समन्वय समिति प्रमुखको पद पनि रिक्त छ। १३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ ।
कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ ।
स्थानीय तह उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दलहरूले तयारी थालेका छन् । जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगबाट जारी भएको निर्देशानुसार पालिकाको उपाध्यक्षका लागि हुने उप निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि बढाएको निमित्त जिल्ला निर्वाचन अधिकारी अंगतबहादुर महतले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले आज नै जिल्ला न्यायधिशलाई संजीव पोखरेललाई नियुक्त गरिसकेकाले उपनिर्वाचनका काम अघि बढेको महतले बताएका छन् । गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि हुन लागेको उप निर्वाचनको तयारी तिव्र पारिएको छ ।
२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित भएकी जोशीको निधनपछि उप निर्वाचन हुन लागेको हो । पाँच वडा रहेको उक्त पालिकामा सात हजार ४५८ जना मतदाता रहेका छन् ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com