ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बागमतीमा बहुमत जुटाउन गठबन्धनलाई सकस, हानेपालाई मनाउने प्रयास


१ फागुन, हेटौंडा । बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक आज काठमाडौंमा बस्दैछ ।

नयाँ सरकार गठनको विषयमा छलफल गर्न काठमाडौंमा आज बिहीवार दिउँसो बैठक बोलाइएको एक सांसदले जानकारी दिए ।

बागमती प्रदेश सभामा रहेका ७ दलमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा छन् ।

नयाँ सरकार विस्तारका लागि जारी हिउँदे अधिवेशनअन्तर्गत् बुधबार बैठक बसेर बागमती प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा प्रदेश सरकार छ । नेपाली कांग्रेसका ६ जना मन्त्रीले २३ फागुनमा राजीनामा दिंदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा छन् ।

संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । गठबन्धनमा रहेका तीन दलको सिट संख्याले मात्रै बागमतीमा सरकार बनाउन बहुमत नपुग्ने भएपछि जम्कट्टेल साना दलको समर्थन जुटाउन लागिपरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेल सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई पनि सत्ता गठबन्धनको बैठकमा बोलाइएको छ ।

२९ र ३० फागुनमा राखिएको प्रदेश सभा बैठकमा अनुपस्थित हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य हेटौंडा नआएपछि गठबन्धनको बैठक नै काठमाडौंमा राखिएको एक सांसदले जानकारी दिए ।

काठमाडौंमा आज दिउँसो बैठक राखिएको र हानेपालाई पनि छलफलमा बोलाइएको माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले स्वीकार गरे । बैठकमा सरकार गठनको विषयमा छलफल हुने उनले बताए ।

मुख्यमन्त्री जम्कट्टेलले राप्रपा र हानेपालाई सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव राखेका छन । उक्त प्रस्तावमा राप्रपा र हानेपा दुवैले सहमति जनाइनसकेको दलका नेताहरु बताउँछन् ।

राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रस्ताव आएको तर सरकारमा सहभागी हुनेबारे कुनै निर्णय नगरेको बताए । उनले सरकारको परिस्थिति हरेर मात्रै उपयुक्त निर्णय लिने अनलाइनखबरलाई बताए ।

११० सदस्य प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धनका एमाले, माओवादी र एकीकृत समाजवादीको सिट संख्या ५५ मात्रै छ । बहुमत जुटाउन हाम्रो नेपाली पार्टीको दुई सिट निर्णायक बनेको छ ।

प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३ -सभामुखसहित), एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीका २ प्रदेश सभा सदस्य छन् । नेमकिपाले सरकारमा सहभागी नहुने बताइसकेको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.