पाेखरा ५ कार्तिक | गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालय कांग्रेस सांसद भेषबहादुर पौडेलले पाउने भएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गर्न लागेको उनको सचिवालयले जनाएको छ।
लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट छन्। नेपाली कांग्रेस लमजुङका पूर्व सभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्।
यसअघि उक्त मन्त्रालयमा मनाङबाट निर्विरोध निर्वाचित सांसद मनाङेलाई नियुक्त गरिएको थियो। मनाङेले उक्त मन्त्रालय ‘जुनियर’ भएकोले आफूले नलिने भन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए।
गण्डकीमा कांग्रेसका मुख्यमन्त्री पाण्डेले बहुमत पुर्याउन मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनाएका थिए।
एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालय संख्या बढाएर भदौ १७ गते मनाङेलाई वन तथा वातावरण मन्त्रालय दिएको थियो। उक्त मन्त्रालयको काम पातीघारी र बनमारा हेर्ने भएकाले आफूले नलिने भन्दै मनाङेले अस्वीकार गरेका थिए।
मनाङेले वन तथा वातावरण मन्त्रालय अस्वीकार गरेपछि उक्त मन्त्रालय खाली थियो। गण्डकीमा सरकार गठन गर्दा मुख्यमन्त्री पाण्डेले आफू निकट सांसदलाई मात्र मन्त्री बनाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढेको थियो।
मुख्यमन्त्री पाण्डे पार्टी सभापति देउवा निकट हुन्। गण्डकीमा कांग्रेसका तर्फबाट अर्थमन्त्री बनेका डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री बनेका विन्दुकुमार थापा पनि देउवा निकट हुन्। शेखर–गगन निकट सांसद पौडेललाई मन्त्री नियुक्त गरेर मुख्यमन्त्री पाण्डेले पार्टी भित्रको असन्तुष्टि साम्य पार्न खोजेको कांग्रेस निकट नेताहरूको दाबी छ।
लमजुङमा रहेका सांसद पौडेल मन्त्री नियुक्त हुने खबर पाएसँगै पोखरा आउँदैछन्। उनलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारी रहेको कांग्रेस नेता हरि बरालले बताए।
‘मन्त्री नियुक्त हुने भएकाले माननीय भेषबहादुर पौडेल पोखरा आउँदै हुनुहुन्छ,’ उनले सेतोपाटीलाई भने, ‘आजै शपथ ग्रहण गराएर पदभार ग्रहण गर्ने तयारी छ।’
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com