खाना शरीरका लागि मात्र हैन, दिमागका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खानाले मुडमा पनि प्रभाव पार्छ । मस्तिष्कको संरचना र कार्यका लागि आहार र पोषक तत्त्व महत्वपूर्ण हुन्छ ।
ध्यान, सङ्गीत आदिले मुडलाई राम्रो बनाउँछ । यो आधुनिक समयको तनावपूर्ण जीवनका लागि आरामदायी उपचार पनि हो । तर दैनिक आहारमा खाइने खानेकुराले पनि व्यक्तिलाई खुसी वा दु:खी बनाउन सक्छ । मन पर्ने चीज खाएपछि मन शान्त हुन्छ र हामी निकै आराम महसुस गर्न थाल्छौं ।
हामीले जे खान्छौं, त्यसले हाम्रो दिमाग, पेट र फिल–गुड हर्मोनहरू जस्तै सेरोटोनिन र डोपामाइनलाई पनि असर गर्न सक्छ ।
सूक्ष्म पोषक तत्त्व र मुडबीचको सम्बन्ध
केही भिटामिन र खनिजले मानसिक स्वास्थ्यमा ठूलो भूमिका खेल्छन् । उदाहरणका लागि माछा र अण्डाको पहेंलो भागमा पाइने भिटामिन डीले मुडलाई नियन्त्रण गर्न र डिप्रेसनलाई कम गर्न मद्दत गर्छ । त्यसैगरी पालक, बदाम र डार्क चकलेट जस्ता खाद्यवस्तुमा म्याग्नेसियम प्रशस्त हुन्छ, जसले स्नायु प्रणालीलाई शान्त पार्न र चिन्ता कम गर्न मद्दत गर्छ ।
भिटामिन बी, सम्पूर्ण अन्न, दुग्धजन्य पदार्थ र फलफूलमा पाइन्छ, मस्तिष्क स्वास्थ्य र ऊर्जा स्तरलाई समर्थन गर्छ ।
खराब आहारले मानसिक स्वास्थ्यलाई कसरी असर गर्छ ?
प्रशोधित र अस्वस्थ खानाको सेवनले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । प्रशोधित खाना प्राय: चिनी, अस्वस्थ बोसो र सिन्थेटिक यौगिकले भरिएका हुन्छन्, जसले शारीरिक र मानसिक स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । अस्वस्थ आहारले सोच्ने शक्तिलाई कमजोर बनाउँछ, एकाग्रता कम गर्छ र तनाव वा डिप्रेसन बढाउन सक्छ ।
राम्रो खानाले खुसीको हर्मोनलाई असर गर्छ
केही खानेकुराले दिमागमा खुसीको हर्मोनको उत्पादन बढाउन सक्छ । सेरोटोनिन एक राम्रो महसुस गर्ने हर्मोन हो र यो धेरै मात्रामा पेटमा बन्छ । केरा, नट र सम्पूर्ण अन्न जस्ता खानाले यसको उत्पादनमा मद्दत गर्छ । त्यसैगरी अण्डा, माछा र दालजस्ता प्रोटिनयुक्त खानेकुरा खाँदा पनि डोपामाइन बढ्छ ।
पेट र मस्तिष्कबीचको सम्बन्ध
पेटको स्वास्थ्य र मानसिक स्वास्थ्य एकअर्कासँग जोडिएको हुन्छ । जब पेट स्वस्थ हुन्छ, यसको सिधा मतलब मानसिक स्वास्थ्य पनि उत्तिकै राम्रो हुनेछ । साथै, पेटमा कुनै किसिमको समस्या छ भने मुड स्वतः बिग्रिन्छ । त्यसैले दही र अन्य ‘फरमेन्डेट’ खानेकुरालाई आहारमा समावेश गर्नुपर्छ । तिनीहरूले पेट र दिमाग दुवैको राम्रो हेरचाह गर्छन् ।
डिहाइड्रेसनले पनि प्रभाव पार्छ
प्रायः हामीलाई थाहा हुँदैन, तर कहिलेकाहीं मुड खराब हुनुको कारण पानीको कमी पनि हुन्छ । यति मात्र होइन, धेरै पटक मस्तिष्कले भोकसँगै पानीको आवश्यकतालाई भ्रमित गर्छ र यस्तो अवस्थामा हामीलाई विभिन्न प्रकारका खानेकुरा खान मन लाग्न थाल्छ ।
दिमागलाई राम्रोसँग काम गर्न पानी चाहिन्छ । त्यसैले दिनभर प्रशस्त मात्रामा पानी पिउनुपर्छ । अन्यथा डिहाइड्रेसनले मस्तिष्कमा गहिरो प्रभाव पार्छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com