ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



पढाइ सुरू नहुँदै कसरी पुर्‍याइयो गाउँ-गाउँमा पाठ्यपुस्तक


सरकारले यसपालि पनि शैक्षिक सत्र सुरू हुनुअघि नै जिल्लाहरूमा पाठ्यपुस्तक पुर्‍याइसकेको छ।

विद्यालयका पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार चैत मसान्तभित्र ७७ वटै जिल्लामा किताब पुर्‍याइनेछ।

अहिलेसम्म ७३ जिल्लामा पाठ्यपुस्तक पुर्‍याइएको र बाँकीमा चैत मसान्तभित्रै पुर्‍याइने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्धक अनिलकुमार झाले सेतोपाटीलाई जानकारी दिए।

नयाँ शैक्षिक सत्र २०८१ सुरू हुन एक साता बाँकी छ। वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा भर्ना खुल्छ। विद्यालयहरूले भर्ना अभियानसमेत सञ्चालन गर्छन्। 

विगतमा सुगममा भर्ना अभियान सकिएर पठनपाठन सुरू हुँदा र दुर्गममा शैक्षिक सत्र सकिन लाग्दा पनि किताब नपुगेका गुनासा सुनिन्थे। तर पछिल्ला केही वर्षदेखि सरकारले समयमै देशैभर पाठ्यपुस्तक पठाउन थालेको छ।

यो पनि: शैक्षिक सत्र सुरू नहुँदै यसपालि कसरी पुग्यो विद्यार्थीका हात-हातमा किताब?

सरकारले गत वर्षदेखि समयमै जिल्ला-जिल्लामा पाठ्यपुस्तक पुर्‍याइसक्ने कार्य थालेको हो। गत वर्ष चैत २५ गतेदेखि पुस्तक बिक्री वितरण सुरू भएको थियो। यसपालि अझै छिटो चैत ९ गतेदेखि नै बिक्री वितरण खुला गरियो।

सरकारले स्रोत साधन र व्यवस्थापन पक्ष सुधारेर पाठ्यपुस्तक छपाइदेखि समयमै ढुवानीसम्मको व्यवस्था मिलाएको छ।

‘सडक नपुगेका ठाउँमा पनि समयमै पुर्‍याउन शैक्षिक सत्र सुरू हुनुभन्दा एक महिनाअघि नै पाठ्यपुस्तक वितरण सुरू गरेका थियौं,’ प्रबन्धक झाले भने, ‘चैत ९ देखि २५ गते साँझसम्म ७३ जिल्लामा ९५ लाख थान पाठ्यपुस्तक पुर्‍याइसकिएको छ। बाँके, बर्दिया, कैलाली र सोलुखुम्बुका लागि सोमबारदेखि पाठ्यपुस्तक वितरण सुरू भएको छ, चैत मसान्तभित्रै ती ठाउँमा पाठ्यपुस्तक पुर्‍याइन्छ।’

Janak-shikchya--(2)-1712554556.jpg

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।

जनक शिक्षा सामग्री केन्द्रमा छापेका पाठ्यपुस्तक सातै प्रदेशका ९ वटा वितरण केन्द्रमा लगिन्छ। ती केन्द्रबाट गाउँ-गाउँमा किताब पुर्‍याउन एक हजार दुई सय ६६ बिक्रेता छन्। उनीहरूले विद्यालयहरूसँग समन्वय गरी पाठ्यपुस्तक पुर्‍याउँछन्। साथै खुद्रा बिक्रेताले पनि पाठ्यपुस्तक विद्यालयसम्म पुर्‍याउँछन्। 

सामुदायिक विद्यालयका पुस्तक किनेबापत बिक्रेताले ९ प्रतिशत र ढुवानीमा पनि छुट पाउँछन्। भौतिक दूरीका आधारमा ढुवानी सेवा उपलब्ध गराइने उनले बताए। ‘त्यसैले दुर्गमका लागि सबैभन्दा पहिले पुस्तक वितरण खुला गरिएको थियो,’ उनले भने।

शैक्षिक सत्र सुरू हुनेबित्तिकै विद्यार्थीका हात-हातमा पाठ्यपुस्तक उपलब्ध गराउन भन्दै गत जेठदेखि नै छपाइ सुरू गरिएको थियो। आवश्यक सामग्री र कच्चा पदार्थ सहजै प्राप्त भएकाले पाठ्यपुस्तक छपाइमा कुनै समस्या नपरेको प्रबन्धक झाले बताए।

उनकाअनुसार चार रङका पाठ्यपुस्तक छपाइका लागि पाँच वटा मेसिन छ भने ब्राण्डिङका लागि पनि ५ वटै मेसिन छन्। ‘२४ सै घन्टा मेसिन चलायो भने साढे दुई लाख थान पुस्तक छपाइ गर्न सकिन्छ,’ उनले भने।

पाठ्यपुस्तक छपाइका लागि केन्द्रमा दिनहुँ चार सय ५० जना कर्मचारी खटिएका थिए। तीमध्ये दुई सय ९० जना स्थायी र बाँकी करारका कर्मचारी हुन्। कामको चाप हेरेर दैनिक ज्यालादारीमा २० जनासम्म कर्मचारी राख्ने गरिएको छ।

‘नयाँ शैक्षिक सत्रका लागि एक करोड ७५ लाख थान पुस्तक छापिसकेको छ,’ उनले भने, ‘ती पाठ्यपुस्तक छपाइका लागि साढे तीन अर्ब खर्च भएको छ।’

गत वर्ष एक करोड ५० लाख थान पुस्तक छपाइ गरिएको उनले जानकारी दिए। त्यसमध्ये एक करोड ३५ लाख थान पुस्तक बिक्री वितरण भएको थियो।गत वर्षको तुलनामा यस वर्ष ४० लाख थान पुस्तक बढी छापिएको प्रबन्धक झाले जानकारी दिए। 

‘पाठ्यपुस्तक छपाइमा प्रतिपेज १२ पैसा नोक्सानी छ,’ उनले भने, ‘रंगीन पुस्तकको एक पेज छाप्न ६५ पैसा खर्च हुन्छ भने सादा छपाइका लागि प्रतिपेज ४६ पैसा लाग्छ।’ लागत मूल्यभन्दा १२ पैसा कममा पुस्तक बिक्री गरिने उनी बताउँछन्। कागजको मूल्य भने वर्षेनी बढ्ने तर चार वर्षदेखि पाठ्यपुस्तक छपाइको मूल्य भने एकै रहेको उनले बताए।

दुई वर्षअघि एक केजी काजग एक सय रुपैयाँमा आउँथ्यो। अहिले प्रतिकेजी कागजको मूल्य एक सय ७५ रूपैयाँ पुगेको उनले बताए। ‘पाठ्यपुस्तक छपाइबाट केन्द्रलाई घाटा छ,’ उनले भने, ‘तर केन्द्रले अरू छपाइका काम पनि गर्छ, जसले नाफा कमाउन मद्दत गर्छ।’

प्रबन्धक झाका अनुसार पछिल्लो तीन वर्षमा केन्द्रले करिब ५१ करोड रूपैयाँ नाफा कमाएको छ। केन्द्रले पाठ्यपुस्तकबाहेक सरकारी कागजात, मतपत्र, हुलाक पत्र पनि छाप्ने काम गर्छ। त्यसले नाफा कमाउन सहयोग गर्ने उनले बताए।

केन्द्रमा कर्मचारी कम हुँदै गएकोले आउँदो शैक्षिक सत्रलाई पाठ्यपुस्तक छपाइ गर्न भने समस्या आउन सक्ने उनले बताए।

‘प्रत्येक वर्ष २०-२५ जना कर्मचारीले अवकास लिइरहेका छन्,’ प्रबन्धक झाले भने, ‘तर कर्मचारी पदपूर्ति गर्नेबारे कुनै योजना बन्न सकेको अवस्था छैन। आवश्यक सामग्री भए पनि कर्मचारी अभावले आगामी दिनमा समयमै पाठ्यपुस्तक छपाइ गर्न गाह्रो पर्ने देखिन्छ।’

केन्द्रले पाँच वर्षअघिसम्म कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक मात्रै छपाइ गर्दथ्यो। कोरोना लागेपछि १ देखि ५ सम्मका पुस्तक भने निजी छापाखानाले छपाइ गर्दै आएको छ। तर अनिवार्य नेपाली, अंग्रेजी र सामाजिक विषयका पाठ्यपुस्तक केन्द्रले नै छाप्छ। तर केन्द्रले यसपालि आधारभूत तहका कक्षा ३ र ४ को पाठ्यपुस्तक मात्रै छापेको छ।

कक्षा ३ का लागि एक लाख थान र कक्षा ४ का लागि दुई लाख थान पाठ्यपुस्तक छपाइ गरिएको उनले बताए। माध्यामिक तहका लागि प्रत्येक कक्षाका लागि २० लाख थानभन्दा बढी पुस्तक छपाइ गरिएको थियो। 

‘पाठ्यपुस्तकमा कुनै परिवर्तन नआए पुन: प्रयोगमा ल्याउन सकिन्छ। तर कुनै परिवर्तन भएमा ती पाठ्यपुस्तक अन्तिममा छपाइ गर्ने गरेका छौं,’ उनले भने। केन्द्रले कक्षा ११ र १२ का लागि पनि पाठ्यपुस्तक छपाइको काम गर्दै आएको छ। 

‘कक्षा ११ र १२ का लागि १५ देखि २० लाख थान पाठ्यपुस्तक छपाइ गरे पुग्छ,’ उनले भने।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.