काठमाडौं । कोरोना महामारीले थलिएको मुलुकको अर्थतन्त्र अझै तङ्ग्रिएको छैन । यो बेला अनेक अराजक गतिविधि मौलाउँदा अर्थतन्त्र लयमा आउला त भन्ने प्रश्न बलियो बन्दै गएको छ ।
अर्थतन्त्रमा अराजकताको मुख्य पात्र व्यवसायी दुर्गा प्रसाईं बनेका छन् । २०७९ फागुन १ गते झापामा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्न सार्वजनिक आह्वान गरेका थिए । भाडाका मानिस खटाएर कालोमोसो दल्ने अभियान नै चलाए । जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन पुगेका एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई गत वर्ष फागुन १६ गते कालोमोसो दलियो । कालोमोसो दल्नेलाई प्रहरीले पक्राउ पनि गर्यो । फागुन २४ गते चितवनबाट प्रसाईंको कालोमोसो दस्ताका संयोजक पक्राउ परेका थिए ।
प्रसाईंको नेतृत्वमा देशव्यापीरुपमा आन्दोलन चर्किएपछि बैंक तथा वित्तीय संस्थाको ऋण नउठ्ने समस्या बढ्न थाल्यो । ऋण तिर्न ताकेता गर्दा प्रसाईंको आन्दोलनमा रहेको भन्दै ऋणीहरूले फोन बैकलाई टेर्न छोडे । एक बैंकर भन्छन् ‘यो वित्तीय अराजकताको पराकाष्ठा हो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासनको मामिलामा कतै नचुक्ने बताइरहेका छन् । कानुनी शासन र शान्ति सुरक्षाको अभावमा सुशासन कोरा कल्पना मात्र हुन जान्छ ।
सरकार सुशासन कायम गर्ने नाममा ठुला–ठुला व्यवसायीलाई पक्राउ गर्दै जेल पठाउन पछि परेको छैन । तर प्रसाईंको अराजकतामा भने निरीहतापूर्वक मौनता साँधिरहेको छ । ललितानिवास प्रकरण, बाँसबारी छालाजुत्ता उद्योग र बिजुलीको बिल प्रकरणमा देशका उद्योगी व्यवसायीहरूसँग सरकारले सिँगौरी खेलिसकेको छ । थप उद्योगी व्यापारी पनि पक्राउ पर्ने त्रासमा छन् । तर, गत वर्षदेखि खुल्लमखुल्ला बैंक तथा वित्तीय संस्थाविरुद्ध विषवमन र आक्रमणमा उत्रिरहेका प्रसाईंलाई कानुनी कठघरामा ल्याउने प्रयासमा सरकार देखिँदैन । कतिपय व्यवसायी सरकार नै प्रसाईंसँग तर्सिएको ठान्दैछन् । तब त प्रसाईंले वित्तीय अनुशासन पटक पटक तोडिरहेका छन् ।
बैंकबाट ऋण लिएपछि तिर्नैपर्छ भन्ने अनुशासन विरुद्ध उनको अभियानले सुखद सङ्केत गर्दैन । ऋण नतिरे बैंकिङ कसुर आकर्षण हुन्छ । तर, प्रसाईंले ऋण तिर्दिनँ र अरूले पनि तिर्नु पर्दैन भनेर सार्वजनिक हुङ्कार गरिरहँदा सरकार मुकदर्शक मात्र बनिरहेको छ ।
‘ऋण लिएपछि नतिर्ने भन्ने हुँदैन,’ पूर्व बैंकर अनलराज भट्टराईले भने, ‘प्रसाईंले सार्वजनिकरुपमा भाषणबाजी गरेर नतिर्न आह्वान गर्दै आइरहेका छन् ।’
प्रसाईंको होहल्लाले वित्तीय साक्षरतामा कमजोर समुदाय भड्किएको छ । लघुवित्त र स्थानीय साहुजीको मिटर ब्याजबाट प्रताडित गाउँगाउँका सर्वसाधारण प्रसाईंको आन्दोलनबाट तरङ्गित छन् ।
यतिबेला काठमाडौँमा लघुवित्त पीडित, मिटरब्याजी पीडित र दूधको भुक्तानी नपाइरहेका किसानले समानान्तर आन्दोलन गरिरहेका छन् । निर्माण व्यवसायीसमेत गत वर्षदेखि नै सरकारविरुद्धको आन्दोलनमा छन् । यी सबै प्रकारका आन्दोलनमा प्रसाईंको आन्दोलनको धेरथोर प्रभाव देखिन्छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com