नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसका मन्त्रीहरूले सहयोग नै गरेको बताएका छन्।
अर्थमन्त्रीका रूपमा आफूले पनि प्रधानमन्त्री दाहाललाई सहयोग गरेको महतको भनाइ छ।
फागुन २१ गते कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरी मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। त्यसपछि कांग्रेसका मन्त्रीहरू स्वत: हटेका थिए।
प्रवक्ता महतले मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहाललाई सहयोग गरिएको बताए।
‘अर्थमन्त्रीले प्रधानमन्त्रीलाई सहयोग गरेन भन्ने झुट हो,’ महतले भने, ‘के गर्न सम्भव छ, के छैन भनेर प्रष्ट कुरा राखिएको थियो। त्यसबेला ती विषयमा प्रधानमन्त्री पनि समझदार हुनु भएको थियो।’
प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका नेताहरूले तत्कालीन अर्थमन्त्री महतबाट सहयोग नपाइएको आरोप लगाएका थिए।
उनले सरकारमा कांग्रेसको उपस्थितिका कारण केही उपलब्धिसमेत देखिएको दाबी गरेका थिए।
‘बजेटमा मितव्ययिता, बजेटरी अनुशासन, दोस्रो चरणको आर्थिक सुधारका प्रक्रिया अघि बढाइएको थियो,’ उनले भने, ‘प्राथमिकता क्षेत्रमा खर्च गर्न खोजिएको थियो, जथाभावी स्रोत खर्च रोकिएको थियो।’
उनले कांग्रेसका कारण औसतभन्दा बढी काम भएन भनेर प्रधानमन्त्री दाहालले भन्नु गलत भएको पनि बताए।
‘स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने र औषधिका लागि गाँजा खेती गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको थियो,’ महतले भने।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com