काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत पुस ११ गते बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको घटनामा गरिएको छानबिन प्रतिवेदन संसदमा प्रस्तुत गर्न माग गरेको छ । शुक्रवार प्रतिनिधिसभा बैठकको सुरुमा सभामुखको ध्यानाकर्षण गराउँदै एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा सरकारको प्रत्यक्ष संलग्न रहेको बताउँदै बालकुमारी घटनाको छानबिन समितिको प्रतिवेदन संसदमा प्रस्तुत गर्न माग गरे ।
सो घटनाको कारक भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला रहेको बताउँदै उनलाई तत्काल सरकारबाट हटाउन माग गरे ।
भट्टराईले भने– ‘बालकुमारीमा दुई युवाको हत्या भएको भनेर फागुन ६ गतेको संसद् बैठकमा प्रधानमन्त्री स्वयंले भन्नुभएको छ । त्यो हत्या कसले गरेको हो । त्यहाँ कुनै नागरिक तहबाट एक अर्कामा झडप भएर हत्या भएको होइन । सुरक्षाकर्मीको गोलीबाट हत्या भएकोले त्यसमा सिङ्गो सरकार जिम्मेवार छ भन्ने कुरा हामी जोड दिएर भन्न चाहन्छौँ । एकजना भौतिक पूर्वाधार मन्त्रीको लापरबाहीले सो घटना भयो । सरकारले नै बनाएको बालकुमारी घटना छानबिन आयोगले नै मन्त्री दोषी छ भनेपछि त्यो मन्त्री फेरी पदमा बहाल हुने भन्ने कुरा नैतिक हिसाबले हुँदै हुँदैन । प्रधानमन्त्रीले नै हत्या भने पनि सुरक्षा निकायलाई कमान्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’
उनले सो घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत नैतिक जिम्मेवारी लिनुपर्ने उनले बताए । यस्तै टेरामेक्स काण्डमा संलग्न रहेको भनेर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग अख्तियारले बयान लिएको बताउँदै उनले मुद्दा प्रभावित पार्न सक्ने भन्दै उनलाई पनि सरकारबाट हटाउन माग गरे ।
यस्तै गौतम बुद्धको अस्तु धातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ वर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनी पनि सरकारमा बस्न नहुने एमालेको माग छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com