काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन हुन नसकेको १० वर्ष भयो । परिणामस्वरुप यो क्षेत्रीय संगठनको औचित्यमाथि प्रश्न उठ्न थालिसकेको छ । शिखर सम्मेलन आयोजना नहुँदा अध्यक्षता हस्तान्तरणसमेत हुन सकेको छैन ।
कोभिडको बेलामा अनौपचारिक रुपमा एकदुई वटा भर्चुअल बैठकबाहेक सार्कका अरू उपलब्धिमुलक गतिविधि भएका छैनन् । सार्क खारेज नै हुने हो कि भन्ने आशंका पनि प्रकट भइरहेका छन् ।
भारतका विदेशमन्त्री एस.जयशंकरले पनि सार्क संकटमा रहेको स्पष्ट पारिसकेका छन् । भारतमा शुक्रबार आयोजित एक कार्यक्रममा जयशंकरले पाकिस्तानको नाम नलिइकन भने, ‘सार्क संगठन संकटमा छ, किनभने यसका एक सदस्य राष्ट्र लगातार आतंकवादलाई समर्थन गरिरहेको छ ।’
पहिला पनि पटकपटक सार्क शिखर सम्मेलन यसरी स्थगित हुँदै सर्दै आएको थियो तर यति लामो समय स्थगित भएको यो पहिलो पटक हो । भारतका विदेशमन्त्री जयशंकरको कुरा सुन्दा अब त सार्कको औचित्य नै समाप्त भएको चर्चा छ । उनले पाकिस्तानको नाम नलिई भने, ‘यदि मलाई कसैले तपाईंले सार्कको भविष्य देख्नु भएको छ भनेर सोध्छ भने मलाई लाग्छ– त्यो व्यक्तिले सोधिरहेको छ कि त्यो देशको कुनै भविष्य देख्नुभएको छ ?’
सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । सन् २०१४ को नोभेम्बर २७ र २८ मा नेपालमा भएको सार्क सम्मेलनपछि थप गतिविधि भएको छैन । सार्क सम्मेलन सम्पन्न भएको पाँच महिनापछि पोखरामा बसेको सार्क मन्त्रीस्तरीय बैठकले पाकिस्तानको इस्लामावादमा १९ औँ बैठक २०७३ चैत २४ र २५ गते बस्ने निर्णय गरेको थियो ।
तर २०७३ असोजमा भारत–पाकिस्तानबिच भएको लफडाले सार्क सम्मेलन स्थगित गरिएको थियो । जम्मु–कश्मिरको उरीमा आफ्ना सैनिकमाथि पाकिस्तानले आक्रमण गरेको भारतको आरोप छ । सो आक्रमणमा १९ जना भारतीय सेनाको ज्यान गएको थियो । त्यसले सिधै सार्क शिखर सम्मेलनमा ब्रेक लाग्यो ।
अध्यक्ष राष्ट्रको नाताले नेपालले शिखर सम्मेलन आयोजनाका लागि पटकपटक प्रयास गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकार रुपक सापकोटाले सार्क संगठनलाई सक्रिय बनाउन नेपालको तर्फबाट दुई पक्षीय, बहुपक्षीय राजनीतिक तथा कूटनीतिक प्रयास भइरहेको बताए ।
सार्कको अध्यक्ष राष्ट्र भएका नाताले प्रधानमन्त्री प्रचण्डले विभिन्न फोरम तथा भेटघाटमा सार्कका बारे चिन्ता व्यक्त गर्दै त्यसलाई सक्रिय बनाउन प्रयास गरेको सापकोटाको भनाइ छ । उनले पछिल्लो समय विभिन्न देशको भ्रमणका क्रममा पनि प्रधानमन्त्रीले सार्कबारे चासो लिएको र त्यसका लागि निरन्तर प्रयास गरिरहेको बताए ।
सापकोटाले भने, ‘नेपाल आफ्नो अध्यक्षता हस्तान्तरण गर्न आतुर छ र त्यसका लागि विभिन्न प्रयास भइरहेको छ । समन्वय र सहकार्यका लागि कुनै कन्जुस्याइँ भइरहेको छैन ।’
सार्कमा रहेका अन्य देशको बिचमा रहेको असमझदारीका कारण केही समस्या भइरहे पनि नेपालले आफ्नो प्रयास जारी राखेको उनले बताए ।
सन् २०१४ देखि २०१७ सम्म सार्कको महासचिवको जिम्मेवारी सम्हालेका अर्जुन बहादुर थापाले पनि शिखर सम्मेलन आयोजनाका लागि प्रयास गरेका थिए । आफू महासचिव भएको केही महिनामै नेपालमा १८ औँ शिखर सम्मेलन भएको र १९औँ सम्मेलन पाकिस्तानमा गर्ने निर्णय भए पनि विभिन्न कारणले सम्भव नभएको थापाले बताए ।
सन् २०१६ मा पाकिस्तानमा शिखर सम्मेलन गराउन आफूले निकै प्रयास गरेको बताउँदै उनले प्रयास गर्दागर्दै आफ्नो कार्यकाल सकिएको प्रस्ट पारे । सार्कमा रहेका दुई देश बिचको विवादले गर्दा शिखर सम्मेलन अनिश्चित बनेको उनको भनाइ छ ।
दुई देश (भारत–पाकिस्तान)का कारण सार्कमा संकट देखिए पनि खारेज हुने वा समाप्त हुने अवस्था नरहेको थापाले बताए । उनले ती दुई देशबिच सम्बन्ध सुधार नभएसम्म सार्कले गति नलिने पनि प्रस्ट पारे ।
अर्का परराष्ट्र विज्ञ एवं पूर्व सचिव मधुरमण आचार्यले सार्क दक्षिण एसियाली राष्ट्रहरूका लागि आवश्यक रहेकाले यसलाई क्रियाशील गर्नुपर्ने बताए । नेपाल अध्यक्ष राष्ट्र भएको नाताले सार्कलाई सक्रिय बनाउन भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले तर त्यस प्रकारको भूमिका निर्वाह नभएको बताए । उनले अर्को क्षेत्रीय संगठन बिमस्टेकमा पनि लगभग उही देश सदस्य रहेका कारण बिमस्टेक र सार्कमा कुनै अन्तर नरहने जिकिर गरे ।
सन् २०१६ देखि सार्क सम्मेलन गराउन तथा अध्यक्षता हस्तान्तरण गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर त्यसपछि बनेका प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरुले पटकपटक प्रयास गरेको देखिन्छ । पछिल्लो समय परराष्ट्र मन्त्री एनपी साउदले पनि प्रयास गरिरहेका छन् । तर भारतले चासो नदिएपछि १० वर्षदेखि सुस्त रहेको सार्क उठ्न सकिरहेको छैन ।
विदेश मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले भने, ‘सार्क यस्तै रहन्छ, सायद अब सक्रिय हुँदैन । सक्रिय भए पनि धेरै समय लाग्छ ।’
सार्क देशका बिचमा राजनीतिक विवाद रहेको र त्यो विवाद समाधान नभएसम्म सार्क सक्रिय नहुने कर्णको भनाइ छ । ‘केही देशको बिचमा यस्ता विवाद छन्, जो समाधान हुने अवस्थामा देखिँदैन,’ उनले भने, ‘अब नेपाल बिमस्टेक जस्ता अन्तर्राष्ट्रिय संगठनमा सक्रिय हुनुपर्छ, सार्कमै अल्झेर बस्नु हुँदैन ।’
सार्कका गतिविधि सुस्ताउँदै जाँदा पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली राष्ट्र सदस्य रहेको बिमस्टेक सक्रिय हुँदै गएको छ । बिमस्टेकमा दक्षिण एसियाका भारत, नेपाल, श्रीलंका, भुटान र बंगलादेश तथा दक्षिण पूर्व एशियाका म्यानमार र थाइल्याण्ड छन् । १९९७ मा गठन भएको बिमस्टेकले २०२१ देखि विशिष्ट क्षेत्रको नेतृत्व गरी सक्रियता बढाएको छ ।’
संयोग नै भन्नुपर्छ, सार्क संगठन निष्क्रिय भएपछि बिमस्टेक सक्रिय भएको छ । बिमस्टेकलाई अगाडि बढाउन भारत विशेष रुपमा सक्रिय देखिएको छ । भारतका विदेशमन्त्री जयशंकरले पनि सार्कको विकल्पमा बिमस्टेक आएको स्पष्ट गरेका छन् । उनले भने, ‘सार्कको विकल्पमा बिमस्टेक अगाडि बढिरहेको छ ।’
यसले पनि भारतले सार्कको तुलनामा बिमस्टेकलाई बढी महत्त्व दिएको छ । सार्कलाई सक्रिय बनाउन भारत नै अनिच्छुक देखिएको छ ।
सार्कजस्तै बिमस्टेकको पनि शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक, वरिष्ठ अधिकारीको बैठक, बिमस्टेक कार्य समूह, विभिन्न आर्थिक मञ्च बनाइएको छ । हाल यसको सचिवालय बंगलादेशमा छ ।
सार्क दक्षिण एसियाको एक क्षेत्रीय संगठन हो भने बिमस्टेक दक्षिण एसिया र पूर्व एसियालाई जोड्ने अन्तरक्षेत्रीय संगठन रहेको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् । सार्कको स्थापना शीतयुद्धको समय सन् १९८५ मा भएको थियो भने शीतयुद्ध समाप्त भएपछि सन् १९९७ मा बिमस्टेक स्थापना भएको हो ।
सार्क संगठनमा रहेका कतिपय देशको बिचमा एक अर्कामाथि अविश्वास बढेको देखिन्छ भने तर बिमस्टेकमा रहेका राष्ट्रको बिचमा हालसम्म कुनै अन्तरद्वन्द्व देखिएको छैन ।
भारतीय विदेशमन्त्री जयशंकरले बिमस्टेकका बारेमा भनेका छन्, ‘यस्तो होइन कि त्यहाँ (बिमस्टेक) कुनै समस्या छैन, म्यानमारको हालत निकै चुनौतीपूर्ण छ तर म भन्छु कि बिमस्टेकमा त्यस्तो मुद्दा (चुनौती) छैन, जो सार्कमा छ, सहयोगको आवश्यकता र त्यसलाई अगाडि पनि बढाउनुपर्छ ।’
बिमस्टेकलाई सक्रिय बनाउन लागेको भारतले कोभिडको समयमा सार्क देशका प्रमुखहरूको भर्चुअल बैठक बोलाएको थियो । तर पाकिस्तानले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारलाई बैठकमा उपस्थित गराएको थियो । त्यो घटनाले भारत झन् चिढियो ।
सन् २०२३ मा अमेरिकामा भएको संयुक्त राष्ट्रसंघ महासभाको बैठकमा सार्कस्तरीय मन्त्रीहरुको बैठक बस्ने तयारी थियो । त्यसका लागि नेपालले प्रयास पनि गरेको थियो । तर त्यो बैठक पनि बस्न सकेन । सन् २०१४ पछि एक पटक २०१९ को महासभामा मन्त्रीस्तरीय बैठक बसेको थियो । त्यसपछि नेपालको तर्फबाट शिखर सम्मेलन गराउने प्रयास भएको देखिन्छ ।
२०७७ असोजमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्कको मन्त्रीस्तरीय भर्चुअल बैठक गरेका थिए । सो बैठकमा उनले पाकिस्तानमा शिखर सम्मेलन हुनेमा आपत्ति छ भने अरू कुनै ठाउँमा गरौँ भनेर प्रस्ताव राखेका थिए तर पाकिस्तानले मानेन । पाकिस्तानले सार्कको शिखर सम्मेलन हुने हो भने इस्लामाबादमै हुनुपर्ने जवाफ दिएका थियो । भारत इस्लामावादमा हुने बैठकका लागि तयार भएन । त्यस यता सार्कको कुनै बैठक बसेको छैन ।
अफगानिस्तानको तालिवानी सरकारलाई सार्कमा सदस्य रहेका कुनै पनि राष्ट्रले समर्थन जनाएका छैनन् । यस्तो असहमतिका बाबजुद पनि सार्कमा रहेका कुनै पनि देशलाई हटाउन नसकिने प्रावधान छ । पूर्व राजदूत कर्ण भन्छन्, ‘अफगानिस्तानका कारण पनि सार्कलाई सक्रिय गर्न गाह्रो भइरहेको छ ।’
सार्कको महासचिव बंगलादेशका गोलाम सरवार छन् । श्रीलंकापछि महासचिव पाउने पालो अफगानिस्तानको रहे पनि बंगलादेशलाई महासचिव दिइएको हो ।
बंगलादेशलाई महासचिव दिएपछि पाकिस्तान रिसाएको छ । पाकिस्तान अफगानिस्तानलाई महासचिव दिनुपर्छ भन्ने पक्षमा थियो तर नेपालले कूटनीतिक पहल गरेर बंगलादेशलाई दिलाउनमा सफल भएको हो ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com